Skip to content
Recent News
५ माघ २०८१, शनिबार

ऋण नतिर्न जेष्ठ नागरिकको हत्या

Click media

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– १ सुष्पा क्षमावतीका ७७ बर्षिय जेष्ठ नागरिक झिलक बहादुर विश्वकर्माको हत्या आरोपमा छिमेकी ५२ बर्षिय गणेश घिमिरे पक्राउ परेका छन् ।
घिमिरेले मृतक विश्वकर्मासंग झण्डै एक बर्ष अघि दुई लाख रुपैया सापट लिएको र उक्त रकम तिर्न नपर्ने ठानि उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनु भयो ।
जेठ १७ गतेबाट घरमा नदेखिएका मृतक झिलबहादुर हराएको र गाई बाख्रा कराई रहेको भन्दै छिमेकीले जेठ १९ गते प्रहरीलाई खबर गरेका थिए । हराएको सूचना पाए लगतै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सो क्रममा मृतकको घर पुगी जनप्रतिनिधि र स्थानीयको रोहवरमा ढोकाहरुमा लगाएको ताल्चा फोडेर भित्र सबैठाँउमा खोजि गरिएको थियो ।
जेठ २० गते झिलक बहादुर घर मुनी मृत अवस्थामा भेटिएको भनि स्थानीयले जानकारी दिएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको र सोहि क्रममा विश्वकर्माको हत्या छिमेकी गणेश घिमिरेले गरेको खुलेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनु भयो ।


मृतक विश्वकर्माको शव किरा परेको र घाटीमा चेप्टो ढुङ्गाले थिचिएको अवस्थामा भेएिको थियो । विश्वकर्माको शव भएकै ठाँउमा हथौडा समेत भेएिको थियो । घट्ना स्थलको अवस्था लगायतका कारण मृतक झिलक बहादुरको हत्या १७ गते राति ९÷१० बजेको आसपास भएको निष्कर्ष सहित प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सो क्रममा काठमाण्डौ बस्दै आएका गणेश घिमिरे दिवालीको लागि जेठ ८ गते घर आई झिलक बहादुर हराएकै दिन १७ गते राति परिवारलाई थाहै नदिई काठमाडौँ फर्कीएको र उनले मृतकसंग पैसा समेत सापट लिएको जानकारी पाएपछि हत्यामा उनको हात हुनसक्ने आशंका सहित अनुसन्धान अघि बढाईएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।
अनुसन्धानकै क्रममा घिमिरे बस्दै आएको काठमाडौँको हाडीगाँउ स्थित घर पत्ता लगाई उनी सोहि घरमा रहेको सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र प्रदेश प्रहरी कार्यालय बनेपाको प्राविधिक सहयोग तथा प्रहरी वृत्त मालिगाँउको समन्वयमा जिल्ला प्रहरी कार्यालय दोलखाबाट गएको प्रहरी टोलिले जेठ २३ गते विहान उनलाई पक्राउ गरी दोलखा ल्याएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।
प्रारम्भिक बयानमा अभियुक्त घिमिरेले मृतकसंग लिएको ऋण तिर्न नपर्ने ठानी उनको हत्या गरेको बताएको र जेठ २४ गते विहिवार दोलखा जिल्ला अदालतमा ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मा पाँच दिनको म्याद लिई थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानमा घट्नामा अन्य कसैको संलग्नता नदेखिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्