काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन् ।
पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताए ।
राष्ट्रप्रतिको जिम्मेवारीलाई हृदयङ्गम गरी सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले राष्ट्रको भविष्य निर्माण गर्ने आधार मुलुकको शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमानदारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता गुण विकास गर्नुपर्ने बताए ।
आजका विद्यार्थी नै भविष्यका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा जिम्मेवार नागरिक हुने भएकाले उनीहरूलाई पाठ्यपुस्तकको ज्ञान र परीक्षामा उच्च अङ्क हासिल गर्ने क्षमतामा मात्र सीमित राख्न नहुने उनले बताए ।
विद्यार्थीलाई समस्या समाधान, नवीन सोच विकास, प्रविधिको सदुपयोग र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्नुुपर्नेमा जोड दिँदै राष्ट्रपतिले यसका लागि सरकार, नीतिनिर्माता र शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबै पक्षबीच सहकार्य आवश्यक छ भने।



प्रतिक्रिया दिनुहोस्