काठमाडौं । चीनले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका दुई पूर्वरक्षामन्त्री तथा कम्युनिस्ट पार्टीका नेतालाई निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ ।
भ्रष्टाचारको मामिलामा दुई पूर्वरक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको हो । बीबीसीका अनुसार, चिनियाँ अदालतले पूर्व रक्षामन्त्रीहरूविरुद्ध ठूलो परिमाणमा घुस लिएको र शक्ति दुरुपयोग गरेको निष्कर्ष निकाल्दै यस्तो फैसला गरेको हो ।
‘निलम्बित मृत्युदण्ड’ के हो ?
चीनको कानुनी व्यवस्थामा निलम्बित मृत्युदण्ड भनेको तुरुन्त कार्यान्वयन नगरिने मृत्युदण्ड हो । सामान्यतया दुई वर्षसम्म दोषीले थप गम्भीर अपराध नगरे सजायलाई आजीवन काराबासमा रूपान्तरण गरिन्छ ।
राष्ट्रपति सी चिनफिङ नेतृत्वमा चीनले पछिल्ला वर्षहरूमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाइरहेको छ। उच्च सैन्य अधिकारी र कम्युनिष्ट पार्टीका प्रभावशाली नेतासमेत यस अभियानको निशानामा परेका छन् ।
पूर्व रक्षामन्त्रीहरूविरुद्धको कारबाहीलाई चिनियाँ सेनाभित्रको शक्ति संघर्ष र अनुशासन कडाइसँग पनि जोडेर हेरिएको छ। विश्लेषकहरूका अनुसार, यसले सैन्य संरचनाभित्र भ्रष्टाचार नियन्त्रण गर्ने सन्देश दिन खोजेको देखिन्छ।
बीबीसीका अनुसार, चीनले पछिल्लो समय सैन्य नेतृत्वमाथि निगरानी बढाउँदै गएको छ।



प्रतिक्रिया दिनुहोस्