Skip to content
Recent News
८ मंसिर २०८१, शनिबार

अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

Click media
 प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताएका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरूको आज (बुधबार) बालुवाटारमा बसेको बैठकमा ओलीले लोकतन्त्रका लागि लडेका राजनीतिक दलहरूले अराजकता स्वीकार्न नसक्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीले लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कमी नआउने बताएका थिए । उनले सत्ता समीकरणमा रहेका दलहरू एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताएका थिए ।

‘हामी लोकतन्त्रका लागि लडेका हौँ । हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ, अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन,’ बैठकमा ओलीले भने, ‘जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आजीवन लागेका छौँ । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन, यसमा हामी स्पष्ट छौँ ।’

वैठकमा सरकारको १०० दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एकढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ । लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको प्रधानमन्त्रीले अन्य राजनीतिक दलका नेताहरूलाई अवगत गराएका थिए । प्रधानमन्त्री ओलीले सरकारको १०० दिन पुगेको अवसरमा बुधबार दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराएका थिए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराएका थिए ।

उनले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताएका थिए । यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरूले आ–आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्ष रुपमा अगाडि बढाउन आग्रह गर्ने भन्नेमा बैठकमा समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

NLICL

प्रतिक्रिया दिनुहोस्