काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत खुल्ला सीमाका कारण धेरै समस्या झेल्नुपरिरहेको बताएका छन् ।
भारतीय सीमावर्तीका नेपालीको सुरक्षाबारे संसदीय समितिमा छलफलमा बोल्दै जनताको समस्या बुझ्नको लागि आफैँ छड्के जाँच गर्न हिँड्ने गरेको उनले बताए । खुल्ला सीमाका कारण लागुऔषधको कारोबारसमेत बढेको भन्दै पक्राउ गर्न खोज्दा दुवैतिरका यता र उता लुक्ने गरेको उनको भनाइ छ ।
गुरुङले भने, ‘सीमा सीमावर्ती नाकाहरूमा जनताहरूले मलाई देखिरहेको अहिले पाउनु भइरहेछ, म एकदम गम्भीर रूपमा लागिरहेको छु । म छड्के जान्छु, सुरक्षा लिएर गइनँ, गृहमन्त्री गायब भयो भनेर आउँछ । म त मन्त्रालयमै हुन्छु ।’
सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि आफू लागिरहेको उनको भनाइ छ ।
उनले थपे, ‘आफूले गरेको अर्डरहरू कार्यान्वयन भएको छ कि छैन भन्ने कुरा छड्के जाँदै गर्दा प्रत्यक्ष रूपमा भुक्तभोगी जनताले भोगिरहेको समस्या आफ्नै आँखाले देख्न पाउँदा त्यही अनुसार मन्त्रालयमा आएर कमी–कमजोरी सच्चाएर काम गर्न सकिन्छ । कुन–कुन नाकामा हाम्रो कमीकमजोरी भइरहेछ ? कसरी तस्करी भइरहेछ ? कसरी जनताहरूले दुःख पाइरहेछन् ? भन्ने थाहा पाउन सकिन्छ।’
सीमा क्षेत्रमा देखिएको समस्या दीर्घकालीन समाधान गर्नुपर्ने भन्दै उनले भने, ‘जनतासँग प्रत्यक्ष बसेर उहाँहरूसँग संवाद गर्ने, उहाँहरूको पनि सुझाव लिने, त्यही सुझावको आधारमा मन्त्रालयमा आएर फेरि हामी कमी–कमजोरी औँल्याउन सक्छौँ ।’



प्रतिक्रिया दिनुहोस्