काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ ।
दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएका छन् ।
गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना हुँदैछ । बिहान नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको थियो । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ । समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपालमा गणतन्त्र स्थापना सहज रूपमा आएको राजनीतिक परिवर्तन भने होइन । दशकौँ लामो राजनीतिक संघर्ष, जनआन्दोलन, सशस्त्र विद्रोह र जनताको बलिदानपछि २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
वि.सं २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि राजनीतिक दलहरू र तत्कालीन विद्रोही नेकपा माओवादीबीच सहकार्यको आधार तयार भएको थियो । त्यसपछि भएको १२ बुँदे समझदारीले आन्दोलनलाई निर्णायक मोडमा पुर्यायो ।
२०६२/०६३ को जनआन्दोलनमा लाखौँ नागरिक सडकमा उत्रिएपछि तत्कालीन संसद् पुनःस्थापना भयो । पुन:स्थापित संसद्ले राजसंस्थाको अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचन गर्ने मार्ग तय गरेको थियो ।
त्यसैको परिणामस्वरूप २०६४ मा संविधानसभा निर्वाचन सम्पन्न भयो र संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र घोषणा गर्यो ।



प्रतिक्रिया दिनुहोस्