Skip to content
Recent News
२३ बैशाख २०८३, बुधबार

सुपका प्रदेशसभा सदस्यसँग ओलीले के भने ?

Click media

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका ११ प्रदेशसभा सदस्यहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ४ घण्टा छलफल गरेका छन् ।
प्रदेशमा संसदीय दलको नेता परिवर्तनको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले भने एकताबद्ध पार्टी र संसदीय दल बनाउन सुझाव दिएका छन् ।

बुधबार बिहान ११ बजेका लागि आह्वान गरिएको छलफल केहीबेर ढिलो गरी सुरु भएको थियो । सुरुमा प्रदेश संयोजक गणेशसिंह ठगुन्नाले विषयवस्तुबारे जानकारी गराएका थिए। त्यसपछि प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले थप प्रकाश पारेका थिए ।

पार्टीको तर्फबाट दुई जनाले धारणा व्यक्त गरेपछि ओलीले संसदीय दलका सदस्यहरूको कुरा सुनेका थिए । ११ जना सांसदहरूले विस्तृत रूपमा ओलीलाई प्रदेशको अवस्था, सरकारको समीक्षा र दलको कामकारबाहीबारे जानकारी गराएका थिए ।

‘सबै सांसदले मनको कुरा निर्धक्क भएर भन्नुभयो, अध्यक्षज्यूले पनि ध्यान दिएर सुन्नुभयो’, बैठकमा सहभागी एक सांसदले भने, ‘केहीले मन्त्री र दलको नेता फेर्ने कुरा उठाउनुभयो, केहीले फेर्न हुँदैन भन्नुभयो ।’

काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन् । मन्त्रीमा नसमेटिएका केही सांसदहरूले अब आलोपालो गर्नुपर्ने संकेत गरेका थिए ।

अध्यक्ष ओलीले करिब ४ घण्टा कुरा सुनेपछि आफ्ना धारणा राखेका थिए । उनले पछिल्लो राजनीतिक अवस्थाबारे चर्चा गर्दै एकताबद्ध हुनुपर्ने बताएका थिए ।

‘अहिले देशी–विदेशी शक्तिहरू हामीविरुद्ध खनिएका छन् । यस्तो बेला विवाद गरेर हुँदैन, एकताबद्ध भएर अघि बढ्नुपर्छ’,  ओलीको भनाइ उद्धृत गर्दै अर्का सांसदले भने, ‘प्रतिकूल स्वास्थ्य अवस्थामा हुँदा पनि हाम्रो कुरा सुन्नुभयो । एक भएर अघि बढ्न अपिल गर्नुभयो ।’

ओलीले संसदीय दल, मन्त्री र समीकरणबारे सांसदका कुरा सुने पनि कुनै निर्णय भने सुनाएनन् । यस विषयमा शुक्रबार फेरि चार नेतालाई ओलीले बोलाएका छन् ।

ओलीले थप संवादका लागि एमाले उपमहासचिव लेखराज भट्ट, संयोजक गणेशसिंह ठगुन्ना, अध्यक्ष कृष्णप्रसाद जैशी र दलका नेता राजेन्द्रसिंह रावललाई बोलाएका छन् ।

‘आज कुरा सुन्नुभयो, पर्सि यस विषयमा केही निर्णय लिनुहुन्छ होला’, ती सांसदले भने, ‘शीर्ष नेताहरूलाई फेरि बोलाइएको छ ।’
संसदीय दलका नेता राजेन्द्रसिंह रावलले चार घण्टा अध्यक्ष ओलीले सबैको गुनासा र सुझाव ग्रहण गरेको बताए । उनले सबै सांसदलाई अध्यक्षले एकताबद्ध भएर अघि बढ्न सुझाव दिएको पनि बताए ।

NLICL

प्रतिक्रिया दिनुहोस्