काठमाडौँ । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरियाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिए ।
बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले बताए । मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह निकाल्ने गर्दछन् ।
मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।
महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पु¥याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ ।
मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवद्र्धक हुनाका साथै धार्मिककार्यका लागि पनि प्रयोग हुने उपभोक्ताको अनुभव छ ।



प्रतिक्रिया दिनुहोस्