अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा ठूलो सङ्ख्यामा भक्तजन उपस्थित हुने भएकाले नदीमा पानीको सतह बढाउन कदम चालिएको जनाएको छ । आयोजनाका अनुसार आज दिउँसोदेखि नै धापड्यामबाट क्रमिक रूपमा पानी छोड्न थालिएको हो । पर्व अवधिभर निरन्तर पानी प्रवाह हुने गरी समन्वय गरिएको पनि जनाएको छ ।
आयोजना उपनिर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले आजदेखि नै पानी छाड्न सुरु गरिएको जानकारी दिए ।’धाप ड्यामको पानी छोडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि करिब १४ घण्टा लाग्छ, त्यसर्थ हामीले आजदेखि नै पानी छोड्न थालेका हौँ’, उनले भने,’विशेष दिनमा हामीले ड्यामको पानी बाग्मतीमा छोड्दै आएका छौँ ।’
प्रतिसेकेण्ड ४०० लिटर पानी तीन दिनसम्म
समितिका अनुसार बाग्मती नदीमा प्रतिसेकेण्ड ४०० लिटरका दरले तीन दिनसम्म पानी छाडिनेछ ।’पानी छाड्दा बाग्मती नदीमा पानीको सतह घुँडासम्म आउँछ र व्रतालुलाई नदीमा स्नान गर्न सजिलो हुन्छ, यसबाट नदीको सौन्दर्यता पनि बढ्ने अपेक्षा छ,’ नेपालले भने,’बागमती नदीमा पानी छाड्न मेलम्ची खानेपानी विकास समितिसँग पनि आग्रह गरिसकेका छौँ ।’
महाशिवरात्रिका अवसरमा देशविदेशबाट हजारौँ भक्तजन पशुपतिनाथ दर्शन तथा बाग्मतीमा स्नानका लागि आउने गर्छन् ।
केयुकेएल र मेलम्चीसँग समन्वय
पानी प्रवाहका लागि सम्बन्धित निकायबीच समन्वय गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई सुन्दरीजल पानी प्रशोधन शाखामार्फत नदीमा पानी उपलब्ध गराउन पत्राचार गरिएको छ ।
बाग्मती सुधार आयोजना प्रमुख शम्भुराज पण्डितका अनुसार धापड्यामबाट हालसम्म केयुकेएल सुन्दरीजल शाखामा ३२ करोड लिटर पानी प्रवाह गरिएको छ । केयुकेएलबाट विभिन्न चाडपर्वमा २७ करोड ९८ लाख लिटर पानी शोधभर्ना भइसकेको जानकारी उनले दिए ।
‘आज बेलुकी ६:०० बजेदेखि आइतबार बेलुकी ६:०० बजेसम्म नदीमा पानी प्रवाह गर्न आग्रह गरेका छौँ’, पण्डितले भने ।
केयुकेएलअन्तर्गत सुन्दरीजल पानी प्रशोधन आयोजनाका प्रमुख हेम बूढाथोकीका अनुसार आज साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्म करिब पाँच करोड लिटर पानी बाग्मतीमा प्रवाह गर्ने तयारी छ ।’आधिकारिक रूपमा आयोजनाले बाग्मती नदीमा पानी छोड्नका लागि माग गर्दै पत्राचार गरेको छ’, उनले भने,’सोअनुसार मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट आइतबार साँझ ६ बजेसम्म करिब ५ करोड लिटर छाड्ने तयारी छ ।’
उनले बाग्मतीमा पानी प्रवाह गर्दा उपत्यकाका उपभोक्तालाई असर नपर्ने पनि स्पष्ट पार्नुभयो ।’हामीले दैनिक उपत्यकाका उपभोक्तालाई १७ करोड लिटर पानी वितरण गर्दै आएका छौँ । बाग्मती नदीमा पानी प्रवाह गरे पनि उपभोक्तालाई असर पर्दैन,’ उनले भने,’किनकी हामी मेलम्ची आयोजनाबाट नै बढी पानी प्रशोधन केन्द्रमा ल्याउनेछौँ ।’
धापड्यामको संरचना र चुनौती
धापड्याम काठमाडौँ उपत्यकाको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यस ड्यामले हिउँदमा बाग्मतीको बहाव बढाउन सहयोग गर्दै आएको छ ।
एशियाली विकास बैंकको ८९ करोड रुपैयाँ सहयोगमा निर्माण भएको जलाशययुक्त ड्यामको लम्बाइ १७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ । वर्षायाममा पानी संकलन गरी हिउँदमा प्रतिसेकेण्ड ४०० लिटरका दरले बाग्मतीमा छाड्ने लक्ष्यसहित आयोजना निर्माण गरिएको थियो ।
तर सुक्खा याममा पर्याप्त पानी संकलन हुन नसक्दा दैनिक रूपमा पानी छाड्ने लक्ष्य कार्यान्वयनमा चुनौती देखिएको छ ।’हिउँदमा बाग्मतीमा पानीको सतह बढाउनका लागि प्रतिसेकेण्ड ४० लिटर पानी बगाउने योजना बनाएका थियौँ, तर त्यो परिणामले खासै उपलब्धि नदिने रहेछ’, नेपालले भने,’परिणाम देखिनका लागि प्रतिसेकेण्ड ४०० लिटर पानी आवश्यक पर्छ, तर त्यति बगाउन ड्यामको क्षमता नभएकाले सुक्खा अवधिमा दैनिक पानी बगाउन सकेनौँ ।’



प्रतिक्रिया दिनुहोस्