Skip to content
Recent News
१६ श्रावण २०८३, शनिबार

गृहमन्त्री र यादवकाे परिवारबीच ८ बुँदे सहमति

Click media

सिरहा : सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच ८ बुँदे सहमति भएको छ।

मृतक परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समेटेर सहमति गरिएको गृहमन्त्री गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए।

सहमति अनुसार घटनाको सत्यतथ्य छानबिन गर्ने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ।

यस्तै, गणेशका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा शिक्षा उपलब्ध गराउने, उनको नाममा पार्क निर्माण गर्ने, बुबाआमाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र शव बुझेर शनिबार नै दाहसंस्कार गर्ने सहमति भएको छ। दाहसंस्कारका लागि आवश्यक खर्च सरकारले व्यहोर्ने गृहमन्त्री गुरुङले बताए।

शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको विषयमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए। अनुसन्धान प्रक्रियालाई सहज बनाउन शव त्यहाँ पठाइएको र शनिबार हेलिकोप्टरमार्फत सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने उनले बताए।

घटनाको निष्पक्ष अनुसन्धानका लागि आफूले स्वतन्त्र छानबिन समिति गठन गरेको पनि गृहमन्त्री गुरुङले जानकारी दिए। सुनसरी र सिरहाका घटनाको अनुसन्धान गर्न अनुभवी अनुसन्धानकर्ता तथा विज्ञहरू समेटेर समिति बनाइएको उनले बताए।

उनले घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवार र जनतालाई निष्पक्ष अनुसन्धान भएको अनुभूति गराउने सरकारको उद्देश्य रहेको बताए। दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ।

NLICL

प्रतिक्रिया दिनुहोस्