काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो बुधबारसम्म शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने सहमति नभए इरानसँगको युद्धविराम अन्त्य हुन सक्ने चेतावनी दिएका छन्।
एरिजोनाबाट वासिङटन फर्किने क्रममा एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हुनसक्छ, म युद्धविरामलाई निरन्तरता दिने छैन । तर, इरानी बन्दरगाहमाथिको नाकाबन्दी जारी रहनेछ । यदि, सम्झौता नभए हामीले दुर्भाग्यवश फेरि बमबारी सुरु गर्नुपर्नेछ ।’
ट्रम्पको उक्त भनाइलाई इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबफले अस्वीकार गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले ट्रम्पमाथि एकै घण्टामा ‘सात झुटो दाबी’ गरेको आरोप लगाएका छन्।
ट्रम्पले इरान अनिश्चितकालका लागि युद्ध रोक्न र सम्वर्धित युरेनियम बुझाउन सहमत भएको दाबी गरेका थिए, जसलाई इरानले आधिकारिक रूपमा खण्डन गरेको छ ।
गालिबफले भने, ‘यदि, अमेरिकी नाकाबन्दी जारी रहे होर्मुज जलमार्ग खुल्ला रहने छैन । त्यहाँबाट हुने आवतजावत इरानको अनुमतिले मात्र हुनेछ ।’
तनाव र चेतावनीबीच कूटनीतिक पहल जारी छ। सोमबार पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच अर्को चरणको वार्ता हुने सम्भावना छ ।
पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनीरले तेहरानमा इरानी नेतृत्वसँग भेटवार्ता गरी संवादका लागि वातावरण बनाएका छन् । कतारका अमिर र टर्कीका राष्ट्रपतिले पनि पाकिस्तानको शान्ति प्रयासमा समर्थन जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्