काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन)शाह आज तेस्रो चरणको जिल्ला दौडाहामा निस्कँदैछन् ।
पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटा पुगेर काठमाडौं फर्किएका बालेन त्यसपछि सुदूरपश्चिमको यात्रामा निस्केका थिए ।
काठमाडौंबाट सोमबार झापा फर्किएका बालेन मङ्गलबार दिनभर आफ्नो क्षेत्रका मतदातासँगको भेटघाटमा व्यस्त रहे ।
आज (बुधबार) बिहान भने उनले मोरङको उर्लाबारीबाट फरक जिल्लाको यात्रा तय गर्दैछन् । आज उनले मोरङका विभिन्न पालिकासँगै सुनसरी र उदयपुर जिल्लामा कार्यकर्ता भेटघाट कार्यक्रम राखेका छन् ।
उनको सचिवालयले मोरङको उर्लाबारीबाट सुरु भई सुनसरी हुँदै दिउँसो उदयपुरसम्म पुग्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
उर्लाबारीबाट बिहान ७ बजे प्रस्थान गरी पथरी, लेटाङ पुग्ने कार्यक्रम छ । लेटाङबाट ५० मिनेटको यात्रा पछि डायनिया पुग्ने कार्यतालिका रहेको छ । त्यसपछि बालेन विराटनगरको बरगाछी क्षेत्रमा पुग्नेछन् ।
विराटनगरबाट दुहबी हुँदै इटहरी पुगेर डेढ घण्टा छलफल गर्ने कार्यक्रम छुट्याइएको बालेनको सचिवालयले जनाएको छ ।
कार्यकर्ता भेटघाट तथा छलफलपछि मध्याह्न १२ बजे इटहरीबाट इनरुवा पुग्ने र त्यहाँबाट साढे १२ बजेपछि बराहक्षेत्रतर्फ लाग्ने तालिका बनाइएको छ । बराहक्षेत्रपछि अन्तिम गन्तव्य उदयपुरका तय गरिएको छ ।
दिउँसो ४ बजेसम्म उनी उदयपुर पुग्नेछन् । यो क्रममा बालेनले आफ्ना कार्यकर्तासँग भेटघाट उम्मेदवारहरूसँग छलफल तथा मतदातासँग अन्तक्रिया गर्ने तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्