काठमाडाै । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीबीच ‘भद्र सहमति’ भएपछि संयुक्त बैठक डाकिएकाे छ ।
उनीहरुकाे आन्तरिक लफडाका कारण पार्टीभित्र र बाहिर किचलाे सिर्जना भएकाे थियाे ।उनीहरुबीच काठमाडौंमा उनीहरूबीच भद्र सहमति भएको बताईएकाे छ। पार्टी र पारिवारिक दुवै सम्बन्धलाई सुदृढ बनाउनेगरी उनीहरूबीच सहमति भएको स्रोतकाे दाबी छ ।
दुईबीचको विवादले उग्र रूप लिँदा पार्टीलाई ठूलो क्षति पुगेको उनीहरूले समीक्षा गरेका थिए। एक भएर अगाडि बढेमात्रै पार्टीलाई जोगाउन सकिने निचोडमा पुगेको उनी ती स्रोतको भनाइ छ। ‘अलग-अलग पार्टी सञ्चालन गर्दा ठूलो क्षति पुगेको उहाँहरूको निष्कर्ष छ। मनमुटावले पारिवारिक जीवनमा पनि बाधा आएको उहाँहरूको समीक्षा छ। जस्तोसुकै परिस्थिति आए पनि श्रीमान श्रीमती मिलेर अगाडि बढ्ने निर्णयमा पुग्नुभएको छ,’ स्रोतले भन्याे।
श्रीमान श्रीमतीबीचको सहमतिसँगै दुवै पक्षका नेताहरू सम्मिलित बैठक डाकिएको छ। अध्यक्ष रञ्जिता चौधरी र संरक्षक रेशम चौधरीको हस्ताक्षरसहित असोज १८ र १९ गते संयुक्त बैठक डाकिएको हाे। ‘एक हौं र एक रहनेछौं’ भन्ने सन्देश दिन बैठक डाकिएको स्रोतको भनाइ छ।
बैठकमा टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचन सम्पूर्ण पदाधिकारी र सदस्यलाई पनि बोलाइएको छ। रेशम-रञ्जिताबीच टकराव आउनुको मुख्य कारण पनि महाधिवेशन रहेको थियो। महाधिवेशनलाई मान्यता दिने वा नदिने, रेशम चौधरीलाई अध्यक्षको मान्यता दिने कि नदिने विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
‘उपरोक्त सम्बन्धमा हाम्रो नागरिक उन्मुक्ति पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केही समयसम्म स्थगित भएका बैठकहरू पुनः आपसी मतभेदलाई मत्थर पारी ‘हामी एक हौं र एक रहनेछौं’ भन्ने सन्देश सबैमाझ छर्दै हाम्रो पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य, पदाधिकारीहरूको बैठक पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकता प्राप्त अध्यक्षताको सहमतिमा काठमाडौंमा बस्ने हुँदा अनिवार्य उपस्थितिको लागि यो पत्र प्रेषित गरिएको छ,’ पत्रमा भनिएको छ।
बैठक बोलाइए पनि समय र स्थान भने तोकिएको छैन। त्यसका लागि नेता गंगाराम चौधरीलाई समर्पक गर्न भनिएको छ।

 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
			 
                 
			


प्रतिक्रिया दिनुहोस्