भक्तपुर । भक्तपुरमा एक ९४ वर्षीया वृद्धाको निर्ममतापूर्वक हत्या भएको छ । भक्तपुर नगरपालिका–३ स्थित नासमना निवासी ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुन्डीराज न्यौपानले जानकारी दिएका छन् ।
खुट्टा डोरीले बाँधी मुखमा कपडा कोचेर हत्या गरेको अवस्थामा गए राति शव फेला परेको उनले जानकारी दिएका छन्। घटनामा संलग्न भएको आशंकामा राति नै एक पुरुषलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । चारभाइ छोरा भए पनि वृद्धा घरमा एक्लै बस्ने गरेको पाइएको न्यौपानेले जानकारी दिए ।
उनका छोराहरु भक्तपुरकै सूर्यविनायकतिर बस्दै आएको प्रहरीले जनाएको छ । छोराहरुले आमासँग दुई महिनादेखि भेटघाट नभएको बयान प्रहरीलाई दिएका छन् । तीनतले घरको माथिल्लो तलाको कोठामा वृद्धाको शव भेटिएको प्रहरीले जनाएको छ । घरको पहिलो र दोस्रो तला भने वृद्धाले भाडामा लगाएकी थिइन्।
बुधबार बिहान तरकारी किनेर घर गएकी विष्णुकुमारी दिनभरि पनि घर बाहिर ननिस्केपछि साँझपख आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा घरमा हेर्न जाँदा उनी मृत फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेका हुन् । पक्राउ परेका पुरुष यसअघि सोही घरमा डेरामा बसेको पाइएको प्रहरीले जनाएको छ । विष्णुकुमारीको शव अहिले पोष्मार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ । पुरानो रिसइबीको कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रतिक्रिया दिनुहोस्