Skip to content
Recent News
६ मंसिर २०८१, बिहीबार

एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी

Click media

दोलखा/नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशनबाट अध्यक्षमा आयोजक समितिका संयोजक नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । उनले पार्टीका नेता इश्वरचन्द्र पोखरेललाई ९५ मतको अन्तरले पराजित गरेका छन् ।
श्रेष्ठले तीन सय ३३ मत प्राप्त गर्दा पोखरेलले दुई सय ३८ मत प्राप्त गरेका थिए । निर्वाचनको क्रममा दुई कित्तामा विभाजित दोलखा एमालेमा श्रेष्ठलाई पार्टीको पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङको सर्मथन रहेको थियो भने पोखरेललाई पार्टीको पोलिटब्युरो सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज आनन्द प्रसाद पोखरेलको सर्मथन रहेको थियो । इश्वरचन्द्र पोखरेल यस अघि दुई पटक पार्टीको प्रमुख भै सकेका छन् । अध्यक्षका अर्का प्रत्यासी भरत दुलालले ३८ मत प्राप्त गरेका छन् । दुलाल पार्टीको नवौ जिल्ला अधिवेशनमा नरबहादुर श्रेष्ठसंग पराजित भएका थिए ।
त्यसैगरी पार्टीको उपाध्यक्ष, सचिव र महिला उपसचिवमा पनि पोलिटब्युरो सदस्य गुरुङ पक्षका उम्मेदवारनै विजयी भएका छन् । उपाध्यक्षमा आयोजक समितिका सहसंयोजक राजेन्द्र मानन्धर विजयी भएका छन् । मानन्धर तीन सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी पूर्व सचिव हिराकुमार थोकरले दुई सय ६३ मत प्राप्त गरेका छन् । थोकर अहिले दोलखाको मेलुङ गाँउपालिकाका प्रमुख हुन् ।
त्यसैगरी सचिवमा गुरुङ पक्षका स्वयम बहादुर खड्का विजयी भएका छन् । खड्काले तीन सय चार मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कृष्णबहादुर वस्नेतले दुई सय ८४ मत प्राप्त गरेका छन् । वस्नेत नवौ अधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए । उपसचिवमा भने पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल पक्षका हरि ओली विजयी भएका छन् । ओलीले एक सय ६१ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी विदुर शर्माले एक सय ४५ मत प्राप्त गरेका थिए । शर्मालाई भने जिल्लाको कुनैपनि नेताको सर्मथन रहेको थिएन । उपसचिवमा पोलिटब्युरो सदस्य गुरुङको सर्मथन रहेको इश्वर न्यौपानेले एक सय १४ मत प्राप्त गरेका थिए । त्यसैगरी उपसचिवमा टपेन्द्र खड्काले ७२ र धनबहादुर तमाङले ६४ मत प्राप्त गरेका छन् ।
उपसचिव महिलामा गुरुङ पक्षको कमला वस्नेत दुई सय ७७ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी पोखरेल पक्षको मेनुका सुवेदीले एक सय ९५ मत प्राप्त गरेकी थिईन । वस्नेत नवौ अधिवेशनमा पनि उपसचिवमै विजयी भएकी थिईन । उनी हाल भीमेश्वर नगरपालिकाको उपप्रमुख हुन् । महिला उपसचिवमा गोमा केसीले ७१ र सिता केसीले ३४ मत प्राप्त गरेका छन् ।
अधिवेशनमा पार्टीको भुगोल तथा बिभिन्न क्षेत्रबाट छ सय २६ प्रतिनिधि चुनिएर आएकोमा छ सय १४ मत खसेको थियो । खसेको मतमा पाँच सय ८४ मत सदर भएको थियो ।

मानन्धरलाई थाेकरकाे बधाई

उपाध्यक्षमा पराजित हिराकुमार थाेकरले सामाजिक सञ्जाल फेसबुकमार्फत विजयी राजेन्द्र मानन्धरलाई बधाई ज्ञापन गर्दै पार्टी सङ्गठन निर्माणमा मानन्धरकाे सक्रियता महत्वपूर्ण हुने उल्लेख गरेका छन् । थाेकरले राजनीतिक सस्कार देखाएकाे भन्दै उनकाे पाेष्टमा धेरैले प्रशङ्सा गरेका छन् ।

NLICL

प्रतिक्रिया दिनुहोस्