धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक किशोरीको हत्या भएको छ । धारिलो हत्यार प्रहारबाट किशोरीकी आमा र अर्की एक किशोरी पनि घाइते भएका छन् ।
कटैयाचौरी भन्ने ठाउँ नजिक भएको घटनामा धनुषाको बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् । मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना गए राति ११ बजेतिर भएको हो । उनले घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्