दोलखा/दोलखाको कालिञ्चोकमा यो बर्ष पहिलो पटक मंगलवार दिउँसो केही समय हिमपात भएको छ । माघ महिनाको दोस्रो दिनबाट हिमपात सुरु भएपछि कालिञ्चोकका होटल व्यवसायीहरु खुशी भएका छन् ।
गत बर्ष फागुनमा मात्र हिमपात सुरु भएको थियो कालिञ्चोक कुरीका सुनपाती होटलका सञ्चालक एवं पर्यटन व्यवसायी हरि ओलीले भन्नु भयो– यो बर्ष माघको सुरुबाटै हिमपात भएकाले पर्यटन आगमनमा बृद्धिहुने अपेक्षा गर्न सकिन्छ ।
तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा मंगलवार दिउँसो करिब एक बजेबाट हिमपात सुरु भएको थियो । आधा घण्टासम्म भएको हिमपातका कारण कालिञ्चोक मन्दिर लगायत आसपासका पहाड र कुरी बजार समेत सेताम्य भएको स्थानीयले बताए ।
यो बर्ष पुष देखिनै कालिञ्चोकमा पर्यटकको आगमनमा बृद्धि भएको र हिमपातले कालिञ्चोकमा पुगेका पर्यटक खुशी देखिएको पर्यटन व्यवसायी ओलीले बताउनु भयो ।
शैलुङमा पनि हिमपात
त्यसैगरी दोलखाकै अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य शैलुङमा पनि हिमपात भएको स्थानीयले बताएका छन् । पछिल्लो समय शैलुङमा स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा निक्कै बृद्धि भएको शैलुङ क्षेत्रमा हिमपात पछि यो संख्या अझ बढ्ने स्थानीय व्यवसायीहरु बताउछन् ।
प्रतिक्रिया दिनुहोस्